यस वर्ष लोडसेडिङ १४ घण्टाबाट बढ्दैन..
उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष लोडसेडिङ दिनको १४ घण्टाभन्दा बढी नहुने दावी गर्नु भएको छ ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उर्जामन्त्री बोगटीले आइतबारबाट मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने जानकारी दिनुभयो ।
हेटौडा र दुहवीको थर्मल प्लान्ट संचालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाईनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्साङदी बन्द
हुँदा हुने कमीलाई पुरा गर्ने तयारी भइरहेको उहाँको भनाई छ । लोडसेडिङको आगामी दिनमा दैनिक ८ घण्टाभन्दा बढी लोडसेडिङ नहुने गरी आफूले १० बुँदे कार्ययोजना तयार पारेको भन्दै उहाँले आगामी मन्त्रिपरिषद बैठकबाट पारित गरेर कार्यान्वयनमा लैजाने बताउनु भयो । उहाँका अनुसार यसमा उत्पादकलाई सहुलियत दिने, ट्रान्समिसन लाइन निर्माण, चोरी र प्राविधिक चुहावट नियन्त्रण, स्टोरेज प्रोजेक्ट निर्माण लगायतका रहेका छन् ।
मन्त्री बोगटीले लोडसेडिङ अन्त्य गर्न भन्दै सरकारले डिजेल प्लान्ट स्थापनाको योजना ल्याएपनि कतैबाट सकारात्मक प्रतिक्रिया नआएकोले छाडेको बताउनु भयो ।